Saturday, July 17, 2010

हतकडी निकाल्दैमा स्वतन्त्रता मिल्दैन

ओजश्वी

तिम्रा स्वतन्त्रताका नाराहरु
फोस्रा भएका छन्
जसका लागि तिमीले
स्वतन्त्रता दिन खोज्यौ
त्यो नै तिम्रा लागि अभिशाप भएछन्
आज ति म्रा हातहरुबाट स्वतन्त्रताका शब्दहरु
लेखिंदा
हिजो तिमीले लगाइदिएको
हतकडीको डामहरु अझै देखिन्छन्
तिमीले कुन आवेगमा आएर
मलाई स्वतन्त्र छाडिदियौ
अनि आज फेरी कुन दशाले
तिमीलाई कुतकुत्याएर
मलाई नै स्वतन्त्र छाडेको नाटक
गरिदियौ
खाली तिमीले मेरा हातका हतकडीमात्र
खोलिदएछौ
भन
म न तिम्रो दाशी हुँ
किन मेरो मनका भावना बुझ्न सक्दैनौ
किन तिमी आफूमात्र स्वतन्त्र चाहन्छौ
अरुभित्रको आत्ममा बुझ्ने तिमी किन
कोशिस गरिरहेका छैनौ
तिमीले बुझ्नुपर्छ अब
अब पनि नबुझे
ढिलाइ हुन्छ
त्यसैले पछुताउनुअघि नै
स्वतन्त्रताको पाठ तिमीले
आफैं पढ्नुपर्छ
हातका हतकडी निकालिदिंदैमा
म स्वतन्त्र हुन सक्दिन भन्ने
तिमीभित्र सोच पलाउन सक्नुपर्छ
यसैले तिम्रा स्वतन्त्रताका नाराहरु
व्यवहारमा उतार्न सक्नुपर्छ ।।

ए मुठ्ठी उठाउन लगाउनेहरु हो

ओजश्वी

हिजो मात्र हो उसले मुठि्ठी उठाएर
मूर्दावादको नारा लगाउँदा लगाउँदै
सडकमा ढलेको जस्तो लाग्छ,
आज फेरी पनि मुठि्ठ उठाएरै
उसैको भाइ सडकमा
नारा लगाउँदै हिडेको छ
हिजो मुठि्ठी उठाउँदा
उसको दाजु
सडकमै ढलेथ्यो
आज फेरी उसैको भाइ
मुठि्ठ उठाउन तयार छ
यता मुठ्ठी उठाउन
लगाउनेहरु
आ-आफ्नै दाउमा लागेका छन्
न हिजो उसैको दाजुको मुठि्ठ तिनले
संझन सकेका छन्
न आज फेरी भाइको मुठि्ठको
महत्व नै बुझेका छन्
तर ति हिजो मुठि्ठ उठाउन
सडकमा पठाउनेहरु
आज नांगा नाग्गै
सिंहदरवारभित्र नाचेका छन्
मुठ्ठीको अर्थ
सत्ताको चास्नीमात्र
यिनले संझेजस्ता छन्,
ए मुठि्ठ उठाउन लगाउनेहरु हो
खबरदार अब सिंहदरवारबाट
बाहिर निकालेर तिमीलाई
नांगा नांगै
सडकमा दौडाउने छौं
अब यो भाइले दाजुको जस्तो
सडकमै ज्यान गुमाउने छैन
तिमीलाई सर्वाड. पारेर
सडक घुमाउने छ ।।